काठमाडौं, चैत १२- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुदको शहर बनाउने महत्वाकांक्षी योजनालाई राष्टिय खेलकुद परिषदले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
खेलकुदका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने र खेलकुदको माहोल बनाउँदै विशिष्ट योजनासहित अगाडि बढ्ने तयारी गरेको कागेश्वरी मनोहरा र राष्टिय खेलकुद परिषदबीच खेलकुद नगरीको अभियानलाई सार्थक बनाउन आवश्यक गृहकार्य सहित अगाडि बढ्ने सैद्धान्तिक सहमति भएको छ ।
त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषदको कार्यालयमा शुक्रवार आयोजित छलफलमा राखेप सदस्य सचिव टंकलाल घिसिडले कागेश्वरी मनोहरा नगरपालिकाले देखेको सपना उत्कृष्ट भएकाले यसलाई सहयोग गर्न आफु तयार रहेको बताए । विभिन्न खेलका पूर्वाधार तयार पार्ने, राष्टिय र अन्तराष्टिय स्तरका प्रतियोगिता संचालन गर्ने र खेलाडी उत्पादन र तयार गर्ने अभियानमा राखेपले विशेष साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नगरप्रमुख उपेन्द्र कार्कीले कागेश्वरी मनोहराले खेल स्थल निर्माणका लागी आवश्यक जग्गाहरु उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।
कागेश्वरी मनोहरा नगरपालिकाका कार्कीले खेलकुद नगरी बनाउने महा अभियानमा राष्टिय खेलकुद परिषदलाई जोड्न पाउदा आफुलाई गर्वको अनुभुति भएको बताए । राखेप सदस्य सचिवको खेलकुद प्रतिको लगाव र चिन्ताका कारण पनि आफनो अभियान सोचे भन्दा सफल हुने मेयर कार्कीको दावी छ ।
शुक्रवार नगरप्रमुख उपेन्द्र कार्कीसहित राखेपका विभिन्न शाखाका प्रमुखहरु, प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौला, वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयाल, वडा नं ७ का वडा अध्यक्ष भिमसेन थापा, नगरपालिकाको इन्जिनियरिड. शाखा, खेलकुद नगरी संभाब्यता अध्ययन तथा समन्वय समितिका पदाधिकारी लगायतको उपस्थिति थियो ।
राखेपका सदस्य-सचिव घिसिङले यसअघि नै नगरपालिकाका विभिन्न स्थानमा रहेका जग्गाहरुको अवलोकन गरिसकेका छन् ।
यो पनि पढ्नुहोस्- कागेश्वरीलाई खेलकुद नगरीको रुपमा विकास गर्न गृहकार्य सुरु, राखेप सदस्य सचिवद्धारा अवलोकन