काठमाडौं । दीपक अधिकारीले १६ औं एसियन क्रस कन्ट्रीमा ऐतिहासिक स्वर्ण जितेका छन् । गोकर्ण फरेस्टमा भएको च्याम्पियनसिपको सिनियर पुरुष १० किलोमिटरमा दिपकले स्वर्ण जितेका हुन् । नेपालले पहिलो पटक क्रस कन्ट्रीमा स्वर्ण जितेको हो ।
१३ औं दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नवौं राष्ट्रिय खेलकुदका स्वर्णधारी दीपकले ३३ मिनेट ५२.०७० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।
यस्तै जापानका डाइची कामिनोले ३३ मिनेट ५२.०८५ मा दौड पूरा गरेर रजत पदक प्राप्त गरे । नेपालकै मुकेशबहादुर पाल ३४ मिनेट ३२.६३५ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जितेका छन् ।
सिनियर पुरुष टिम इभेन्टमा पनि नेपालले स्वर्ण जितेको छ । दीपक, मुकेशसँगै दिपक सुहाङ नेपालका लागि टिममा स्वर्ण दिलाए । यस इभेन्टमा इरानले रजत र भारतले कास्य पदक जितेको छ । च्याम्पियनसिपमा नेपालले सिनियर महिला १० मिटरमा नेपालकी राजपुरा पछाईले रजत जितिन् । महिला सिनियर टिमतर्फ पनि नेपालले रजत जित्यो ।
यस बाहेक नेपालले जुनियर महिलामा दुई रजत र जुनियर पुरुषमा एक कास्य जितेको छ ।