डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धुरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएको छ । सभालाई सम्बोधन गर्न उनि आज गृहजिल्ला आउने भएका छन् ।
कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवाले साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिएका छन् ।
यसअघि प्रधानमन्त्री देउवा यही कात्तिक १७ गतेदेखि ४ दिनसम्म डडेल्धुरा बसेका थिए । सो क्रममा उनले ७ पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवासहित ८ उम्मेदवार चुनावी मैदानमा छन् । उनि २०४८ सालयताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।
यस्तै देउवाले आज सत्ता गठबन्धनद्वारा बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी सभाको तयारी पूरा भएको सत्ता गठबन्धनका चुनाव प्रचार-प्रसार संयोजक एवं नेपाली कांग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्दले जानकारी दिएका छन् ।
यसअघि प्रधानमन्त्री देउवाले यही कात्तिक २३ गते बैतडीको पाटनमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गरेका थिए । सो सभालाई उनिसँगै नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सम्बोधन गरेका थिए ।
बैतडीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर तथा प्रदेशसभा ९१० मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा ९२० मा कांग्रेसकै शिवराज भट्ट चुनावी मैदानमा छन् ।