Hamro Sanchar

शेखर कोइरालाको प्रश्न : मुख्यमन्त्रीलाई चेतावनी दिने अधिकार प्रचण्डलाई कसले दियो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/७/७ गते

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता कोइरालाले भने, “जनताले खोजेको सुशासन, भ्रष्टाचारको अन्त्य, दण्डहिनताको अन्त्य, महङ्गी नियन्त्रण जस्ता काम सरकारले गर्न सकेन । सरकार कहाँ किन अलमलिन थाल्यो थाहा छैन ।”

सरकारले संघीयताको मर्मअनुसार पनि काम गर्न नसकेको कोइरालाले बताए । प्रदेश नम्बर २ को सरकार र केन्द्र सरकारबीचको द्धन्द्ध हुनु दुखद भएको भन्दै उनले प्रधानमन्त्री केपी ओलीले उचित समन्वय गर्न नसकेको आरोप लगाए ।“२ नम्बर प्रदेश र केन्द्र सरकारबीच वाकयुद्ध चलिरहेको छ । यो कुरामा प्रधानमन्त्री के कारणले उदासिन हुनुहुन्छ बुझ्न सकेको छैन ।” उनले भने ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्बर २ को सरकारलाई ओभरटेक नगर्न दिएको चेतावनी अधिकारबाहिरको कुरा भएको कोइरालाले बताए ।

“दाहाललाई बोल्ने अधिकार छैन । उहाँ सरकारमा हुनुहुन्न । अर्को कुरा पार्टीको अध्यक्षले त्यसरी बोल्ने होइन । यो सबै केन्द्र सरकारले मिलाउनुपर्छ । दाहालले यसरी वाइयात कुरा गर्न मिल्दैन ।” कोइरालाले भने ।

कम्युनिष्ट सरकारले संघीयता नै नचाहेकाले यो अवस्था आएको उनको जिकिर छ । अरु प्रदेशका मुख्यमन्त्री पनि समस्या रहेको तर नेकपाबाट चुनिएका सांसदहरु मुख्यमन्त्री भएकाले मुख खोल्न नसकेको उनको तर्क छ ।केन्द्र सरकारले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार र कर्मचारी दिन नसकेकाले अहिलेको समस्या आएको कोइरालाले बताए ।

यस्तै अवस्था रहिरह्यो भने संघीयता असफल हुने भन्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने कोइरालाले बताए ।नेता कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरेका केही गल्तीका कारण चुनावमा पराजित हुनुपरेको बताए ।सभापतिलाई अधिकार दिने नाममा निरङ्कुश बन्न दिन नहुने कोइरालाको तर्क थियो । देउवाप्रति आक्रोषित देखिएका कोइरालाले पार्टीलाई उचित तरिकाले संचालन गर्न नसकेको आरोप लगाए ।

“पदाधिकारी चयन गर्न कसले रोकेको थियो ? तर दुई वर्ष लगाउनुभयो । उहाँलाई काम गर्न कसले रोकेको छ ? उहाँसँग त बहुमत पनि छ ।”काम गर्न नसक्ने, संवादहिनतामा बस्ने अनि सभापतिलाई काम गर्न दिएन भन्ने ? उनले प्रश्न गरे ।

प्रतिकृया दिनुहोस्