Hamro Sanchar

पशुपतिनाथमा दलित पुजारी किन नराख्ने ?

दमाई, कामी, सार्की, गन्दर्भ र बादीलाई किन मठ मन्दिरको पुजारी  नराख्ने ? दलित समुदायमा के कमी छ ? यदि कसैले कमी छ भन्न सक्छ भने बहस गरौं । दलितले बेद तथा अरु तन्त्रमन्त्र पढ्न सकिहाल्छन् ।

मिम बहादुर परियार प्रकाशित : २०७५/६/२४ गते

नेपाली समाजमा दलित समुदायमाथि हुने विभेदको मुख्य कारक तत्वको रुपमा हिन्दु धर्मलाई लिइन्छ । हिन्दु मिथकमा पनि ब्रम्हाको शिरलाई बाउन, कुमलाई क्षेत्री, पेटलाई वैश र कम्मर मुनिको भागलाई शुद्र भनेर ब्याख्या गरिएको छ । त्यस्तै रामायण तथा महाभारत जस्ता धार्मीक ग्रन्थमा पनि कतै न कतै शुद्र भनेर केहि पात्रलाई विभेद गरिएको छ । अझ आधुनिक नेपाली समाजमा दलित समुदायलाई देवि देवताका मठ मन्दिर प्रवेशमा कहिँ खुकुलो त कहिँ निषेध नै छ । बेला बखत मिडियामा आइरहने दलितप्रति पुजारीले गर्ने विभेदका समाचारले आधुनिक नेपाली समाजको सभ्यतालाई अझ उजागर गरेको छ ।

धेरै गैर दलितको के ठम्याइछ भने अब पैला जस्तो छैन । हामी सबै बराबर । छुवाछुत तथा विभेदको अन्त्य भैसकेको छ । त्यसो हो भने किन दलितलाई पशुपतिनाथको पुजारी नराख्ने ? किन  शक्ति पिठहरुमा दलितहरुलाई पुजारी नियुत्ति नगर्ने ? आखरी भगवान सबैका साझा हुन् । पुजारीले पनि बिशेष कार्य  वा चमत्कार  केहि गर्दैनन् । उही दर्शनार्थीको पुजाको समाग्री चडाउने र चन्दन लगाइदिने हो । तन्त्रमन्त्रले केहि चमत्कार गर्दैन पनि । मठ मन्दिरका मुर्ति कुद्न जान्ने , मन्दिरलाई सजाउन प्रयोग गरिने ध्वजा सिलाउने सक्नेले मन्दिरको पुजारीकाे भुमिका गर्न सकिहाल्छन् ।  यदि तन्त्रमन्त्रकै आवश्यक हो भने दलितले सिकिहाल्छन् । तन्त्रमन्त्रको कुरा गर्दा भारतका साइबाबाले पनि धेरै प्रश्नको सामना गर्नु परेको थियो । धेरैले प्रश्न गरे तपाईले हातको सफाइबाट त घडि तथा अन्य सुनचाँदीका गहनाहरु निकाल्नु हुन्छ । के तपाई एक बोरा चामल निकाल्न सक्नुहुन्छ ? गरिब निमुखाले खान पाउँलान् । अनि हामी तपाईलाई सम्मान गर्छौ भनेका थिए । उक्त प्रश्नको उत्तर साई बाबाले कहिले दिएनन् र चामल पनि कहिले निकाल्न सकेनन् उनले ।

पशुपति मन्दिरभित्र पनि भारतिय भट्ट पुजारी र नेवार समुदायका राजभण्डारीको हालीमुआली छ । उनीहरु पनि फरक समुदायको प्रतिनिधीत्व गर्छन । उनीहरुले पनि आजसम्म केहि चमत्कार गरेका छैनन् । दमाई, कामी, सार्की, गन्दर्भ र बादीलाई किन मठ मन्दिरको पुजारी  नराख्ने ? दलित समुदायमा के कमी छ ? यदि कसैले कमी छ भन्न सक्छ भने बहस गरौं । दलितले बेद तथा अरु तन्त्रमन्त्र पढ्न सकिहाल्छन् । ब्राहमण समुदाय बाहेक अरुले पनि पढ्न सक्छन् भन्ने उदारण किराँत समुदायका स्वर्गीय स्वामी प्रपन्नचार्यले प्रश्ट्याइसकेका छन् । बिभिन्न संघ संस्थाले दलितका लागी संस्कृति अध्ययनको ब्यवस्था पनि गरेका छन् । संस्कृत पनि भाषा न हो । भाषा जो कोहिले पनि सिक्न सक्छ । सयौंको संख्यामा दलितहरुले संस्कृतका बिभिन्न तह उतीर्ण गरिसकेका छन् । धेरैले विबाह, ब्रतबन्घ, ग्रह शान्ति तथा अन्य शुभ कार्यहरु पनि सम्पन्न  गरेका छन् ।

धर्म शास्त्रमा जति पनि विबेध छन् ती विभेदलाई तर्क शास्त्रका माध्यमा बाट मेटाउनु पर्दछ । New Historicism का पिता मिसेल फुकोले के भनेका छन् भने इतिहास सधै शक्तिशाली र शक्तिको आडमा लेखिएको हुन्छ । हालसम्मका जति पनि इतिहास छन् प्रया शक्तिशालिकै गाथाले भरिएका  हुन्छन्  । आम मानिसको इतिहास कहि कतै देखिदैन पनि । उसको भुमिकालाई ओझेलमा पारिएको हुन्छ । फुको के तर्क राख्छन् भने अब इतिहास आेझेलमा पारिएकाको लेखिनु पर्दछ । शक्तिको होइन निमुखाको इतिहास लेख्नु पर्दछ । फुकोले भने जस्तै किन हामी इतिहासलाई पुर्नलेखन नगर्ने । ओझेलमा पारिएको  समुदायलाई किन मुलधारमा नल्याउने । नेपालमा राजन मुकारुङले शुरुवात गरेका छन् । उनले बिसे नगर्चीलाई गोर्खा इतिहासको नायकका रुपमा चित्रण गरेका छन् । त्यस्तै अब दलित समुदायले नेपाली इतिहासलाई पुर्नलेखन गर्नुपर्ने समय आएको छ । ओझेलमा पारिएको दलित समुदायको इतिहासलाई मुलधारमा ल्याउनु पर्दछ । डा.शिव रिजाल भन्छन् तर्क शास्त्रकै माध्यमबाट दलित बिरुद्ध स्थापित धार्मीक, सांस्कृतिक मुल्य मान्यतालाई उल्ट्याउन सक्छौ ।

महान बिचारक Fedrick Neitch के भनेका छन् भने समाजमा जे जति मुल्य मान्यता स्थापित छन् त्यस भित्र तथ्य छैन खाली त्यसमा ब्याख्या र विश्लेष्णा मात्र हुन्छ । त्यो तथ्य या ब्याख्या र विश्लेष्णा  पनि शक्ति केन्द्रले बनाएको हुन्छ । नेपाली समाजको शक्ति केन्द्रको रुपमा तागाधारीहरु नै छन् । उनीहरुले जे जे भने, जे जे गरे त्यो तथ्यको रुपमा स्थापित भएको छ । उनीहरुद्धरा स्थापित तथ्य पछि आफु अनुकुलको ब्याख्या र विश्लेष्णा गरे । तागाधारीको ब्याख्या र विश्लेष्णमा दलितलाई कसरी मुलधारबाट टाडा राख्ने, कसरी समाजिक बहिस्कार गर्नेमा केन्द्रित थियो । उनीहरुको मुल्य मान्यता कसरी, कहाँबाट, के गरेर दलितलाई  टाडा राख्ने प्रकारको थियो । चाहे त्यो मन्दिर होस्,  या धारा ।

यीनै तागाधारीबाट  स्थापित समाजिक, धार्मीक, सास्कृतिक मुल्य मान्यताबाट सिंगो दलित समुदाय पिडित छ । दलित समुदाय किन कथा कथित समाजिक मुल्य मान्यतालाई पुर्न ब्याख्या गर्दैन ? किन फ्रीड्रिक नित्से र मिसेल फुकोले देखाएको धारलाई आत्मासाथ गर्दैन ?
पशुपतिनाथ तथा अन्य शक्ति पिठमा दलित पुजारी राख्दा एक प्रकारको इतिहास पुर्नलेखन हुन्थ्यो । दलितमाथि धर्मका नाममा हुने विभेदमाथि विजय हुन्थ्यो । हिजो जुन स्थानमा दलितलाई प्रवेश निषेध थियो त्यही स्थानमा पुजारी राख्दा विगतको इतिहासलाई नयाँ इतिहासले पुर्नस्थापना गर्न सक्छ । शक्ति पिठहरुमा दलित पुजारी नभएका भने होइनन्, काठमाडौंका दक्षिणकाली, भद्रकाली लगायतका मन्दिरहरुमा नेवार समुदायका कुचिकारहरु पुजारी छन् । गोरखाको मनकामना मन्दिरमा मगरहरु पुजारी छन् । यसले पनि के सन्देश दिन्छ भने पुजारी जुनसुकै समुदायको पनि हुन सक्छ । दलित समुदायका ब्यक्तिहरु पुजारी राख्दा क्रम भंग हुन्थ्यो । अहिले दलित समुदायको प्रमुख आवस्यकता भनेको कथित चोखाहरुको दलित बिरोधी मुल्य मान्यतामाथि  क्रम भंग गर्नु नै हो । जब सम्म क्रम भंग हुदैन तब सम्म कुसंस्कार मेटिदैन ।
इतिहासमा  दलित समुदायलाई हर्ने नजर र गर्ने व्यबहार हामी सबैलाई थाहा छ । बिगतमा जे जस्तो भयो त्यस्को लेखाजोखा, भर्पाइ अब वर्तमानमा गर्नुपर्छ । इतिहासमा जे थियो, जे भयो त्यसलाई मेटाउनुपर्छ । नविन इतिहास लेखिनु पर्दछ । दलित इतिहास दलितले नै लेख्नुपर्छ । परिवर्तन आफै हुन्छ ।

प्रतिकृया दिनुहोस्