Hamro Sanchar

श्रीमतीलाई क्यान्सर भयो, श्रीमान् सहयोगीको खोजीमा

प्रकाशित : २०७५/६/१६ गते

कोशराज राई

काठमाडौं, असोज १६- साबिकको नेपालेडाँडा १, हालको षडानन्द नगरपालिका १ नेपालेडाँडा, भोजपुरका दुर्गे बिकलाई बज्रपात परेको छ । आफ्नो पुर्खेउली पेशा र खेती किसानी गरि जीवन गुजारा गर्दै आएका दुर्गेको बिकको जीवनमा दैवको आँखा लाग्यो कि कुन्नी? उनको जीवन संगिनी असली बिश्वकर्मालाई रोगले समात्यो।

आफ्नो जीवन संगिनी सिकिस्त बिरामी परेपछि सुरुमा छाउनी अस्पतालमा ४ महिना राखेर उपचार गरे, तर त्यतिको समय सम्म पनि डाक्टरले के रोग भन्ने पत्ता लगाउन सकेनन् । त्यसपछि टिचिङमा लगियो त्यहाँ पनि १ महिना राखियो तर त्यहाँ पनि असली बिश्वकर्माको रोग पत्ता लागेन । त्यसपछि केएमसि मेडिकल कलेज सिनामंगलमा ४ महिना राख्दा समेत रोग पत्तो नलागे पछि पाटन अस्पताल पुर्याए । त्यहाँ भने डाक्टरले क्यान्सर भनेर पत्तो लगाएपछि पाटनले भक्तपुर क्यान्सर अस्पतालमा रिफर गर्‍यो । फियोमा क्यान्सर भएको रहेछ ।

छोराको कोठाबाट धाएर १ महिना पछि अप्रेसन भएपछी अरु ५ महिनाको उपचार पछि डिस्चार्ज भइ सन्तोषको स्वास फेर्दै आफ्नो जीवन संगिनीलाई घर लिएर गएका थिए, दुर्गे बिक।

डाक्टरले बिच बिचमा जचाउन आउनु भनेकोमा टाढाबाट आउनु पर्ने र खर्चको समेत अभाव भएको कारण आउन सकेनन् । चार वर्षपछि पु:न बिमारी भएपछि भक्तपुर अस्पताल ल्याएर जचाँउदा पहिले अप्रेसन गरेको स्थानमा ऐजेरु पलाएर २ किलो जतिको भएको, उक्त स्थानमा क्यान्सर भएको र ६ महिना सम्म किमो गर्नु पर्ने, प्रती किमो २० देखि ३० हजार रुपैयाँ सम्म लाग्ने अस्पतालले जानकारी दिएपछि बिक परिवारलाई सहयोगी खोज्नुको विकल्प रहेन ।

सुरु देखी हालसम्म ८ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ। खेतीपाती र आफ्नो पुर्खेउली पेशाबाट आर्जन गरेको पैसाले समेत पुगेन । ३ लाख रुपैयाँ ऋण लागिसकेको छ। बाकी उपचार कसरी गर्ने र आफ्नो श्रीमतीलाई बचाउने भन्ने चिन्तामा डुबेका छन् श्रीमान दुर्गे बिक।

जसोतसो गरेर श्रीमतीलाई बचाउन पाए केही गरेर भएपनि गुजारा गर्ने पति दुर्गेको बिश्वास छ । “यस्तो अवस्थामा आफुलाई कसैले सहयोग गर्नुभए वहाँहरु आफ्नो लागि भगवान सरह हुनेछ्न” पति दुर्गे बिकले भने ।

चिन्तामा डुबेका दुर्गे सहयोगी मनहरुको खोजीमा छन् । उनले देशविदेशमा बस्ने नेपाली दाजुभाइ, दिदीबहिनी, सामाजिक संघसंस्था तथा समाजसेवी मनहरुलाई सहयोग गरी श्रीमतीको जीवन रक्षा गरिदिनु हुन अनुरोध समेत गरेका छन् ।

सहयोगका लागि सानिमा बैंकको खातामा 

नाम – Asali Bishwokarma/Durge Bishwokarma
खाता नम्बर- 0140000041008 (सातदोबाटो शाखा)
साथै पीडितका श्रीमान् बिर्खे बिश्वकर्मालाई 00977 9819392799 मा सम्पर्क गरेर सहयोग गर्न सक्नु हुनेछ ।

प्रतिकृया दिनुहोस्