आज : २०७५ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज कुसे औंसी, बुबाको मुख हेर्ने दिन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/५/२३ गते
Ad

भाद्र कृष्ण औँसीका दिन बिहीबार पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उहाँको मुख हेरेर मनाउँदै छन् ।  बुबाको मुख हेरेपछि मिठाइ, फलफूल, कपडा आदि उपहार दिने चलन छ ।  टाढा हुने छोराछोरीले फोनबाटै पनि कुरा गरेर पनि बुबाको मुख हेर्ने गरिन्छ ।

भौतिक रूपमा बिदा भइसकेका पिताहरूलाई भने छोराछोरीले तस्बिर हेरेर वा विभिन्न शक्तिपीठ, देवालयमा गई दान गर्ने परम्परा छ । औँसीको दिनलाई शास्त्रमा पितृको दिन मानिन्छ ।  पिता नहुनेहरूले गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहाक्षेत्रजस्ता पवित्र तीर्थस्थलमा गई पितृका नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गर्ने गर्छन् ।

ज्योतिषका अनुसार, यसै दिन घर डेरामा कुश भित्र्याउने चलन छ ।  स्वर्गका राजा इन्द्रले भगवान् विष्णुलाई स्वर्गबाट कुश दिएको दिनको रूपमा संस्मरण गर्दै यस दिन कुश भित्र्याउने चलन छ ।  तुलसी, कुश र शालीग्रामलाई विष्णुको प्रतीक मानिन्छ ।  भाद« कृष्ण औँसीका
दिन काटिएको कुश एक वर्ष, अन्य औँसीमा काटिएको कुश एक महिना र अन्य दिन काटिएको कुश सोही दिनका लागि मात्र धार्मिक कार्यमा काम लाग्छन् भन्ने मान्यता छ ।

ज्योतिषका अनुसार, भाद्र कृष्ण औँसीका दिन चन्द«मा र सूर्य सिंह राशिमा पर्ने भएकाले यो दिन पितृ कार्यका लागि उत्तम मानिएकाले दिवंगत बाबुप्रति श्राद्ध तर्पण गर्ने र जीवित देवतासरह बाबु हुनेले उपहार आदि दिएर प्रसन्न तुल्याउने गर्दा राम्रो हुन्छ ।

गोकर्णेश्वर औँसी पनि भनिने यो दिन उत्तरगया भनी पवित्र मानिएको गोकर्ण क्षेत्रमा पितृ श्राद्ध गर्दा पितृ उद्धार हुन्छ भन्ने मान्यता छ ।  गोकर्णमा श्राद्ध गराउने ब्राह्मणले बुधबार नै स्थान ओगटिसकेका छन् ।  श्राद्ध कर्म गर्दा गोकर्ण छेउको बागमती नदीमा फोहर फाल्न निषेध गरिएको छ ।  फोहर नियन्त्रण गर्न स्वयम्सेवकको एक दस्ता गोकर्णलगायत बागमती नदी क्षेत्रमा खटिएका छन् ।

प्रतिकृया दिनुहोस्
Ad
Ad