Hamro Sanchar

सय घरमा पुग्दैछ पाइपबाट वायोग्यास ,प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/५/४ गते

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भारतको नाकाबन्दीको असर उत्कर्षमा थियो । देशभरि खाना पकाउने ग्यासको अभावले सर्वसाधारण आक्रान्त थिए ।त्यही बेला  ओलीले घरघरमा पाइपबाट खाना पकाउने ग्यास पुर्याउने भाषण गरे। ओलीको यो भाषणपछि आलोचना, व्यङ्ग्य र प्रशंसा सबै भए।तर त्यही ओलीको भाषण अनुसार विराटनगरमा काम भयो।

नभन्दै विराटनगर महानगरपालिका १४ स्थित श्रीकृष्ण गौ सेवा सदनले उत्पादन गरेको वायोग्यास सय घरमा पाइपमार्फत पुग्दैछ।यो पाइपबाट ग्यास पुर्याउने अभियानको शुभारम्भ गर्न प्रधानमन्त्री ओलीनै आउँदैछन्।ओलीले मंगलबार यो योजनाको शुभारम्भ गरेपछि सय घरमा पाइपमार्फत ग्यास पुग्नेछ। मारवाडी समुदायका स्थानीय व्यवसायीको सकृयतामा यो योजनाले मूर्त रुप पाएको हो।

गौसेवा सदनको सक्रियतामा त्यहाँका गाईको गोबरवाट  ३ सय २० घन मिटर ग्यास उत्पादन हुन थालेको छ । गौसेबा समितिका  सहप्रबन्धक सन्तोष यादवका अनुसार गौशाला परिसरमा डोम स्थापना गरी ग्यास स्टोर गरिन्छ र स्टोेर गरिएको ग्यास पाइलाइनवाट घरघरमा पुुर्याइएको छ । पहिलो चरणमा ३२ र त्यसपछि १ सय घरमा ग्यास पुुर्याइएको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा ८४ लाख बजेटमा यो काम सुरु गरिएको हो । गौशालामा पालिएका २ सय ५ वटा गाईवाट दैनिक २ हजार किलोग्राम गोबर उत्पादन हुुने र सोही गोबरबाट बायो ग्यास उत्पादन भइरहेको सहप्रबन्धक यादवले बताए ।

घरघरमा ग्यासको पाइप जडान भएपछि यस क्षेत्रका स्थानीय बासिन्दा हर्षित छन् । समितिले घरघरमा छुट्टै मिटर राखेर ग्यासको आपूर्ति गरेको हो । एलपी ग्यासको एक सिलिन्डरमा भएजति बायो ग्यास उपभोग गर्दा ११ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने उनले बताए।

गौशालामा निकै अघिदेखि जैविक मल उत्पादन गरी किलोको १२ रुपैयाँमा बिक्री गरिँदै आएको छ । बायो ग्याँस प्लान्टबाट उत्पादन भएको मल पनि व्यावसायिक रूपमा विक्री गर्ने र आय आर्जन गर्ने गौशालाको योजना छ ।तत्कालीन प्रधानमन्त्रीले हावादारी सपना बाँडेको भन्दै आलोचना गरिएको भए पनि सानो आकारमा पाइपबाट ग्यासको वितरण विराटनगरमा सफल आयोजनाका रूपमा देखिएको छ । व्यावसायिक रूपमा पशुपालन गर्ने क्रम बढिरहेका बेला वैकल्पिक उर्जा अगाडि बढाउन सकिएमा एलपी ग्यासको आयातमा कमी आउने सदनका अध्यक्ष शङ्करलाल अग्रवाल बताउँछन्।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सञ्चालित यस आयोजनाको टिकाउपन र दिगो व्यवस्थापन कसरी हुन्छ भन्ने कुरा हेर्न भने सबैले केही समय कुर्नै पर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्