Hamro Sanchar

Ad

इतिहासमा दलितको समाजशास्त्री योगदान

प्रकाशित : २०७५/४/१९ गते
Ad

नेपाली समाज विकासको निम्ति अहम् भूमिका निर्वाह गरेका दलितहरुलाई कसरी अछूत करार गरियो ? वास्तवमा दलित को हुन् ? दलित भन्ने वित्तिकै वर्तमान परिपेक्षमा उत्पीडित र शोषणमा परेका वर्ग हो भन्ने बुझाई छ । यस्ता बुझाईका कारण दलितका पक्षमा वकालत गर्न चाहने प्रगतिशील विचारधारा भएका गैरदलित समुदायका व्यक्तिहरुले समेत सहानुभूतिको नजरले हेर्ने गरेको देखिन्छ । तर दलित हकहित र अधिकारको निमित्त संघर्षरत अधिकारकर्मी, अभियान्ता समेतले दलित वर्गको योगदानप्रति गर्व गर्न सकेको देखिदैन् । दलित वर्गप्रतिको दृष्टिकोणमा परिवर्तन नगरी नेपाली समाजको विकास र परिवर्तन अब असम्भव प्रायः भइसकेको छ । अतः नेपाल एकीकरणका सल्लाहकार, पहिलो वैज्ञानिक, पहिलो संचारकर्मी र पहिलो संगितकारका रुपमा नेपाली दलितहरुको विशिष्ठ योगदानबारे चर्चा गर्नु सान्दर्भिक ठानिएको छ ।

दलितः एकीकरण अभियानका सल्लाहाकार

नेपाल राष्ट्रको निर्माणको लागि नेपाली दलितहरुको योगदान अविस्मरणीय छ । इतिहास साँची छ, बाइसे÷चौविसे राज्यको एकीकरण गरी सिंगो नेपाल निर्माण गर्ने महाअभियानमा विसे नगर्चीले नगद र जिन्सी दिएका थिए । उनले जनतासँग नगद र जिन्सी उठाई अभियान सफल पार्न राजालाई सल्लाह समेत दिएको प्रसँग इतिहासमा उल्लेख छ । भनिन्छ विसेकै आइडियाले राजा पृथ्वी नारायण शाहले १२ हजार घरधुरीबाट आफुसक्दो नगद र जिन्सी दिन आग्रह गरे र आर्थिक सुदृढीकरण गरी एकीकरण अभियान सफल बनाएका थिए ।
एकीकरण अभियानका लागि नेपाली दलितहरुको योगदान अस्त्र निर्माणको पाटोमा अझ महत्वपूर्ण देखिन्छ । पृथ्वीनारायण शाहले युद्धका लागि हातहतियारको बन्दोबस्त गर्न दलितहरुबाट ठूलो भरथेग पाएका थिए । त्यसबेला युद्धका लागि आवश्यक भाला, तरबार, खुडा, खुकुरी र तोप बन्दुक लगायत हातहतियार निर्माणदेखि संचालन गर्न सिकाउनु समेत दलितभित्रका कामीहरुको जिम्मेवारी थियो । सार्कीहरुले हतियारलाई सुरक्षित राख्नको लागि छालाको दाप, बन्दुकको फिता, सैनिकको जुत्ता र गोलीगट्ठा बोक्ने झोला निर्माण गरेर एकीकरण अभियानलाई साथ दिएका थिए । त्यस्तै दमाईहरुले सैनिकहरुलाई आवश्यक पर्ने कपडा सिलाएर योगदान गरे ।
अतः दलितले आफ्नो श्रम, सीप र सिर्जना तथा प्राण आहुति दिएर नेपाल एकीकरण अभियान सफल पार्न विशिष्ठ योगदान गरेको तथ्य ऐना जतिकै छर्लङ्ग छ ।

पहिलो वैज्ञानिक

नेपाली समाज विकासमा विशेषतः अस्त्र, औजार र बस्त्र निर्माणको क्षेत्रमा दलितहरुको योगदान सबैभन्दा अग्रणी रहिआएको छ । खासगरी आफ्नै देशमा रहेका विभिन्न खानीहरुको खोजतलास, स्थानीय स्रोत साधनको पहिचान र प्रयोग गरी भौतिक सामाग्रीहरुको उत्पादन, निर्माण र आविष्कार गर्न प्रमुख भूमिका खेल्ने दलितहरु वास्तवमा नेपालका प्राचीन भौतिकशास्त्री थिए । राणा प्रधानमन्त्री चन्द्र शम्सेरले नेपालका फलाम र तामाका खानीहरु बन्द गराउनु अघिसम्म नेपालमा थुप्रै खानीहरु संचालनमा रहेको तथ्य इतिहासमा पाइन्छ । तत्कालिन समयमा भारतको कानपुरस्थित परम्परागत छालाजन्य सामान उत्पादन केन्द्रसँग समेत प्रतिस्पर्दा गर्ने खालका सावर छाला दैलेख र सिन्धुपाल्चोकको सिन्धुकोटमा उत्पादन गर्ने बलवीर सार्की तथा गाई, गोरु, भैसी, भेडा, बाख्रा इत्यादिको आलो छालालाई धँएरो, अमला, उरेउली, हर्रो जस्ता बोटविरुवामा पाइने क्षारको प्रयोगबाट गन्धरहित बनाई कुहिनबाट जोगाएर विविध सामानको आविस्कार गर्ने सार्की वा चमारहरु नेपालमा सयौं थिए र छन् । के यि तमाम तथ्यहरुले दलितहरु नेपाली समाजका पहिलो र प्राचीन भौतिकशास्त्री वा वैज्ञानिक हुन् भन्ने प्रमाणित गर्दैनन् र ? सामान बोक्न नाम्लाको प्रयोग गर्न, जुत्ता लगाउन, कपडा पहिरिन र खुकुरी भिर्न मात्र जान्ने तर जसले त्यसको सिर्जना गर्छ उसैलाई दमन र उत्पीडनमा बाँच्न विवश तुल्याउनेहरु नेपाली इतिहासका वैज्ञानिक एवम् प्राविधिकहरु कसरी हुन सक्छन् ? यत्तिका धेरै आविष्कारका धनी दलितहरु अछूत र सानो जात अनि सिर्जनाको नाउँमा माखो नमारेकाहरु चाहिँ छूत र उपल्लो जाती कसरी हुन सक्छन् ? यो कँहि नभएको जात्रा हाँडी गाउँमा भने जस्तै भएन र ? यसर्थ नेपालका दलितहरु समाजका सबैभन्दा पुरानो, पहिलो र एतिहासिक वैज्ञानिक आविष्कारक भएको सत्य विहानको घाम जस्तै छर्लड्ग छ ।

पहिलो संचारकर्मी

नेपालको आम संचारको इतिहास हेर्ने हो भने दलितभित्रका दमाईले दमाहा बजाएर, कटवाल कराएर, झ्याली पिटेर, ढोल बजाएर नेपाली समाजमा सूचना संप्रेसनको जिम्मेवारी बहन गर्ने गरेको तथ्य उल्लेखनीय छ । बिगतमा रेडियो, टेलिभिजन, पत्रपत्रिका, टेलिफोन, वा मोबाइल इन्टरनेटको विकास भई नसकेको नेपाली समाजमा दलितले बजाउने बाजाको माध्यमद्धारा सार्बजनिक सूचना बाँड्ने गरिन्थ्यो । संचारको विकासको हिसाबले हेर्दा गन्धर्बहरुले युद्ध, प्राकृतिक प्रकोप, दुर्घटना जस्ता विषयलाई गीत बनाई गाउँगाउँमा पुगेर सुनाउने गर्दथे । अझैपनि यस प्रचलनको अवशेष गन्दर्भहरुमा विद्यामान देखिन्छ । अतः यस ऐतिहासिक र परम्परागत तथ्यहरुको आधारमा नेपाली दलितहरुलाई समाजको पहिलो र प्राचीन सञ्चारकर्मी भएको चिनारीमा देख्न सकिन्छ ।

पहिलो संगितकार

नेपालमा संगीत क्षेत्रको जगेर्ना गर्ने, संगीत क्षेत्रलाई विस्तार गर्ने, कला सिर्जना गर्ने संगीतकारका रुपमा दलितहरुको एक अलग्गै परिचय छ । विशेषतः दलितभित्रका गन्धर्ब, वादी, ढोली, कुशुले, दमाई आदिलाई यसको श्रेय जान्छ । गन्धर्बले माया, प्रेम, सामाजिक रहनसहन, विभिन्न घटना, परिघटनालाई समेटेर गीत तयार पार्ने, र लय मिलाएर गाउने, बाध्यबादन बजाउने गर्दथे । विभिन्न चाडपर्व र शुभकार्य (विवाह, ब्रतबन्ध, दियाली) हरुमा मनोरञ्जनमूलक र भब्य बनाउन संगीतको काम दलितकै थियो । यो पेशामा नेपाली दलितहरुको हजारौं पुस्ताको रगत पसिना बगेको छ । अतः पेशा, सीप, कला र क्षमताको आधारमा दलितहरु नेपाली समाजको पहिलो संगीतकार होइनन् र ?

निष्कर्ष

नेपाली समाजमा सभ्यताको विकास एवं समाजशास्त्रीय र राजनीतिक उन्नतीका लागि दलितहरुको योगदान अविस्मरणीय छ । अफसोच् ! नेपाली समाज र राज्यव्यवस्थाले उनीहरुलाई कलिल्यै सम्मानको हैसिसयत दिएन । आजसम्म उनी र उनीहरुको योगदानको इतिहासलाई छायाँमा पार्ने धृष्टता गरियो । तर अब उनीहरुको योगदानको ऐतिहासिक पाटो र प्रमाणहरुलाई छोप्न इन्द्रेको बाउ चन्द्रे अएपनि किमार्थ सम्भव छैन । बरु कसैको सीप र सिर्जना क्षमतालाई छोपेर होइन, उचित सम्मानसहित अगाडि बढाउनुमा नै नेपाल राष्ट्रको विकास र नेपालीहरुको भविष्य उज्जवल हुँदै जाने देखिन्छ । अन्यथा सिर्जनाका हात र आँतहरुलाई अपमानको अंकुशमा उनेर अझै इतिहासको पांग्रोलाई उल्टो फर्काउने धृष्टता कसैले गर्छ भने इतिहास साँची छ दमितहरुले लगाउने विद्रोहको डढेलोले कसैलाई बाँकी नराख्न पनि सक्छ । अतः दलित र दलितको सिर्जनालाई अपमान नगरौं, उनीहरुको इतिहास र योगदानको सम्मान गरौं ।


प्रतिकृया दिनुहोस्
Ad
Ad