Hamro Sanchar

Ad

सुन तस्करीका मुख्य अभियुक्त भनिएका गोरेले अदालतसमक्ष यस्तो बयान दिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/२/१३ गते
Ad

साढे ३३ केजी सुनकाण्डका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ एसएसपी श्याम खत्री सुन तस्करमा संलग्नमध्ये मुख्य तस्कर रहेको आरोप लगाएर जेल चलान भएका छन् । आइतबार गोरेलाई पुर्पक्षका लागि जेल चलान गर्न मोरङ जिल्ला अदालतले आदेश दिएको हो । अदालतमा बयानका क्रममा गोरेले सुन तस्करमा फरार रहेका एसएसपी खत्री तस्करमा मुख्य रूपमा लागेको दाबी गरेका छन् । गोरेले बयानमा अर्का आरोपित एसएसपी दिवेश लोहनीको सुनकाण्डमा कुनै संलग्नता नरहेको प्रस्ट पारेका छन् भने आफ्ना काका नाता पर्ने अवकाशप्राप्त डीआईजी गोविन्द निरौलालाई पनि निर्दोष भनी चोख्याउने प्रयत्न गरेका छन् ।

सुन तस्करीका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरेले आफूसँग कुनै पनि सम्पत्ति नभएको बयानका क्रममा बताएका छन् । बयानमा आफ्नो धनसम्पत्ति नभएको उनले अदालतसमक्ष बताएका छन् । ‘बुबाको नाममा जग्गाजमिन छ । उर्लाबारी र काठमाडौंमा घर छ, यो सबै बुबाको कमाइ हो,’ उनले भने, ‘मैले कमाएको सबै खर्च गरिसकेँ ।’ अहिलेसम्म ५२१ पटक गरी ३८ क्विन्टल सुन आयात भएको प्रहरी दाबी छ । उनीविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनको सुनुवाइ गर्दै पुर्पक्षका लागि जेल चलान गरिएको छ । गोरेले विमानस्थलमा सुन बोक्ने भरिया सीधै प्रहरी हाकिमको जाने गरेको खुलासा गरेपछि प्रहरी वृत्तमा खैलाबैला मच्चिएको छ ।

अदालतमा उनले तेस्रो लाइनको सुनसमेत फ्लाई दुबईकै फ्लाइटमा आउने र यो लाइनबाट एकपटकमा २५ देखि ३० केजी सुन भरियालाई प्रहरीले पास गराउने उनले बताए । सुन बोक्ने मानिस सहजै प्रहरीका हाकिमको कोठामा जाने र झोला त्यहीँ छाडेर निस्कने गरेको उनले खुलाए ।

जिल्ला अदालत मोरङमा दिएको ३७ पृष्ठ लामो बयानमा उनले सुन तस्करीबारे धेरै कुरा खोलेका छन् । गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन् । धरानका सुन व्यापारी सुनीलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ घले भएको उनको बयान छ । आफूले भरियाहरूको सेटिङ मिलाउने गरेको भन्दै गोरेले भने, ‘म छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने सामान्य मानिस मात्र हुँ ।’

छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान छ । सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मानिसको मिलेमतोमा हुने गर्छ । ३८ क्विन्टल सुन तस्करीमा नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीको प्रत्यक्ष संलग्नता देखिएको छ । यो मुद्दामा गोरेले खत्रीको संलग्नता खुलाएका हुन् । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ घले भएको उनको बयान छ । गोरले मात्र होइन, सुन तस्करीको अभियोगमा पक्राउ परेका अरूले पनि खत्रीलाई पोलेका छन् ।

गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे । ‘श्याम खत्रीले सुन बाहिर निकालेबापत प्रतिकिलो ५० हजार निज आफैँले बुझ्थे,’ गोरेले अदालतलाई दिएको बयानमा भनिएको छ, ‘यो लाइनबाट चार सय किलोदेखि पाँच सय किलोसम्म सुन आएको छ ।’ खत्रीले पाँच सय किलो सुन पास गराउँदा साढे २ करोड बुझेका छन् । छानबिन समितिको अनुसन्धानका क्रममा बरामद भएको खातामा पनि खत्रीलाई एक करोडभन्दा बढी रकम दिएको पाइएको थियो । खत्री अहिले फरार छन् ।

उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनमा रेड कर्नर नोटिस जारी गर्ने तयारी छ । उनी यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए, तर पछि उनलाई अदालतले सफाइ दिएको थियो ।

बयानमा गोरेले भनेका छन्, ‘सनमको मृत्युपछि मैले बालकृष्ण सञ्जेललाई मृत्युको खबर गरेपछि प्रतिज केसी र सञ्जेलले मलाई सहयोग गर्छौँ भन्दै आएका हुन्, डीएसपी केसीले मसँग रकमको डिल गरेको हो । तर, उनीहरू मलाई बचाउन आएका होइनन्, मलाई झुक्याउन रकमको डिल भएकोजस्तो लागेर उनीहरूलाई झुक्याएर इन्डियातर्फ गएको हुँ ।’

निज खत्रीले नै सुन बाहिर निकाल्थे र रकम बुझ्ने गर्थे । रकम वितरणको सम्पूर्ण फेहरिस्त मृतक सनम शाक्यले राख्थे । रजिस्टरमा उल्लेखित डीआईजी, एसपी, डीएसपी, पुलिस, ड्राइभर को–को हुन् यकिन भन्न सक्दिनँ । एयरपोर्टबाहिरका प्रहरी अधिकृतलाई पनि रकम दिइन्थ्यो । एसएसपी श्याम खत्रीले रकम बुझेर लाने गरेको मलाई थाहा छ । अन्य कुरा थाहा छैन । प्रहरीको माथिल्लो दर्जामा प्रतिवादी छिरिङले लाइन मिलाउने भएकाले धेरै कुरा निजलाई थाहा छ । रजिस्टरमा लेखिएको अक्षरहरू मृतक सनम शाक्यले लेखेको हो । सुन कारोबारको यकिन विवरण राख्न रजिस्टर खडा गरिएको हो । उनले सुन प्रकरणको सबै हिसाब सनम शाक्यले नै राख्ने गरेको बताएका छन् । ‘म सुनको कारोबार गर्न बाहिर–बाहिर हिँड्ने भएकाले हिसाबकिताब राख्ने जिम्मा सनमले नै पाएका थिए,’ उनले बयानमा भनेका छन्, ‘हाम्रो कुनै सङ्गठित अपराध छैन ।’’-घटना र विचारबाट

प्रतिकृया दिनुहोस्
Ad
Ad