Hamro Sanchar

Ad

परदेशीका श्रीमतीलाई दोषी देख्ने कहिलेसम्म ?

प्रकाशित : २०७५/२/१३ गते
Ad

रामकुमार थापा

धादिङ जेठ १३- एक महिलालाई कुटपिट भयो । घरबाट निकालियो । दुव्र्यवहार भयो । घरमा सम्मान पाइनन् भन्ने सुन्नुभयो भने तपाईं के सोच्नुहुन्छ ? धेरैलाई लाग्न सक्छ महिला नै गलत हुन् ।

अझ अहिले सामाजिक सञ्जालमा श्रीमान विदेशमा यता श्रीमतीले रमाइलो गरिन, दोस्रो बिहे गर्ने बढे भन्ने जस्ता अनेक समाचारका शिर्षक भेटिन्छन् । महिलाहरुकै कारणले समस्या निम्तियो, उनीहरु त्यस्तै हुन्छन् भन्ने सोच आज हैन समाजमा हिजैदेखिको हो ।

श्रीमान् परदेश गएपछी श्रीमतीलाइ हेर्ने दृष्टिकोण फरक भइहाल्छ । जाने बुझेका मान्छेले नै फरक व्यवहार गर्न थाल्छन् । यस्तै कारणले पनि हिजोआज विदेश जानेका घरमा मनमुटाव भएको देखिन्छ । कारण जे होस् तर दोषी महिलालाई नै देखाउने चलन जस्तै भएको छ ।

यस्तै कारणले कति महिलाहरुले आत्महत्या गरेका छन् । कति महिलाहरु घरबाट निकालिएका छन् । हत्या भएको छ । कतिले मानसिक सन्तुलन गुमाएका छन् । मनोसामाजिक परामर्शकर्ताको रुपमा धादिङमा रहेर काम गरिरहँदा मैले यस्ता समस्याहरु धेरैको घरमा भेटेको छु । ‘महिलाले यति त सहनु पर्‍यो, यस्तै हुन्छन, उस्तै हुन्छन’ भन्नेहरु धेरै भेटेको छु ।

सबैले समस्यामा परेकी महिलालाई गरेको व्यवहार देख्दा मनमा प्रश्न उब्जिन्छ ‘के प्रत्येक समस्याको कारण महिला मात्र हुन् ?’

घरमुली पराइदेशमा हुँदा घर सम्हाल्न गति गाह्रो होला ? एकातिर समाज र आफन्तकै व्यवहार अर्कातिर घरव्यवहार । सुखदुःखमा साथ दिने श्रीमान् परदेश हुँदा महिलालाई भावनात्मक रुपमा कति असजिलो हुन्छ होला ? त्यसमाथि घर परिवार र समाजले अनेकाै बाहाना र लान्छनाले अप्ठेरो बनाउने गर्छन् ।

एकैछिन महिला भएर सोचौं त ? सबैकुरा उनीहरु कसरी सहन्छन् होला ? हामीले सुनेजस्तो महिलाको सहने शक्ति बढी भएर हैन बाध्यताले सहेका हुन् । र, सहन बाध्य बनाइएको हो ।

आफन्तसँग टाढा हुँदा घरका मानिसदेखि विदेशमा हुनेहरु समेत मिलेर काम गर्नुपर्छ । भावना बुझ्नुपर्छ । भावनात्मक सहयोग गर्नुको सट्टा सबैले महिलालाई नकारात्मक दृष्टिकोणले हेर्दा तनाव बढी हुन्छ ।

कतिपयले त महिलालाई दबाएर नराखे मातिन्छन भनेर पनि अनेक व्यवहार गरेको देखिन्छ । अहिले त समय परिवर्तन भइसक्यो । पहिलेको जस्तो समय त छैन् । तर पुरुष मनोविज्ञान जति परिवर्तन हुनुपर्ने हो त्यो परिवर्तन भएको छैन । समयसँगै रहनसहन, चालचलन त फेरिए तर हाम्रा सोच त्यसरी फेरिएको छैन ।

महिला र पुरुष दुवैको भावना एउटै हो । पुरुषलाई जे गर्न मन लाग्छ, महिलाई पनि लाग्न सक्छ । त्यसैले विदेशमा श्रीमान् भएका महिला हुन् वा श्रीमानसँगै भएका महिला हुन्, उनीहरुलाई हेर्ने दृष्ट्रिकोण फेर्नु पर्छ । गाउँघरमा सामान्यतया घरझगडा हुँदा सासु बुहारीबिच जति नराम्रो हुन्छ त्यती ससुरासँग भएको पाइँदैन ।

त्यसैले महिलाले महिलालाई सहयोग गर्ने बानीको विकास गर्नुपर्छ । सुखदुःख साट्ने मान्छे नहुँदा सबैभन्दा गाह्रो हुन्छ । त्यसैले महिलाले महिलालाई सहयोग, माया र हौसला दिन आवश्यकता छ । विदेशमा हुनेका श्रीमतीमात्र सधै दोषी हुन्छन् भन्ने हुँदैन् । महिलाका बारेमा सोच्ने तरिकामा परिवर्तन गरौं ।

(रामकुमार थापा, चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजनामा मनोसामाजिक परामर्शकर्ताका रुपमा कार्यरत हुनुहुन्छ ।)

प्रतिकृया दिनुहोस्
Ad
Ad