Hamro Sanchar

  • Ad
Ad

मरिणखोलाको बगरमा ढुंगामा बसेर पढ्दै बालबालिका

केशबराज पौडेल प्रकाशित : २०७४/११/३ गते
Ad

सिन्धुली । अक्षरसंगको आत्मसाथ अहिले आम बालबालिकाको रहर मात्र नभई अधिकारको कुरा पनि हो । शिक्षाको क्षेत्रमा सरकारले गरेको लगानी आम बालबालिका विद्यालयबाट वाहिर नरहनु भन्ने नै हो ।

अझै पनि धेरै बालबालिका विद्यालयको पहुँचबाट बाहिर नै छन् । कतिपय जसरी तसरी भए पनि पढीरहेका छन् । सिन्धुलीको ध्याङलेक गाउँपालिकाको मरिणखोलाको वगरमा अक्षर चिन्न खोज्ने विद्यार्थीहरुको अवस्था देख्दा भने जोकोही पनि आँखा नरसाई रहन सक्दैन ।

चारवटा जस्ताले छाएको टहरो, टहरोको कुनामा एउटा सानो ब्ल्याबोर्ड वरिपरि वालवालिका छेउमै एकजना शिक्षिका । आम नागरिकले कल्पना गरेको भन्दा फरक दृश्य देखिन्छ सिन्धुलीको ध्याङलेक गाँउपालिका–५ मरिणखोलाको बगरमा । जुन दृश्यले जो कोहीको मन कुँडयाउछ ।

काभ्रेको महाभारत गाँउपालिका जाने सडक किनाराको मरिनखोला बगरमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म ९६ प्रतिशत दलित समुदायका बालबालिकाहरु खोलाको सिरेटो छिचोल्दै मुस्किलले पढिरहेका छन् । सरकारले बालबालिकाहरुलाई अनिवार्य शिक्षाको व्यवस्था गरेको छ भने दलित समुदायलाई भत्ता समेतको व्यवस्था गरेपनि त्यो सुविधावाट सिन्धुलीको ध्याङलेक गाँउपालिका–५ मरिनखोला बगरका बालबालिका बंञ्चित बनेका छन् ।

उनीहरु खोलाको चिसो सिरेटो सहदै भविष्य खोजिरहेका छन् । सरकारले प्रत्येक बालबालिकालाई सर्वसुलभ अनिवार्य शिक्षा दिने बताएपनि सिन्धुलीको ध्याङलेक गाँउपालिका–५ मा मरिनखोला बगरमा एउटा दलित समुदायका वालवालिका शिक्षा लिननै ठूलो कष्ट व्यहोर्न बाँध्य छन् ।

झट्ट हेर्दा ढुंङ्गे युगमा देखिने दृश्य मरिनखोलाको बगरमा देख्न सकिन्छ । चरम आर्थिक अभावमा रहेका त्यहाँका अभिभावकले मेलापात गरेको आम्दानीवाट बचेको पैसा मासिक ५० रुपैयाँ उठाएर शिक्षिकालाई २ हजार पाँच सय उपलब्ध गराएको पैसावाट उनीहरुले मरिनखोलामा वालविकास कक्षा संचालन गरेका छन् ।

मरिनखोलाका बगरमा रहेका साना ढुंगाहरु जम्मा पारेर ती बालबालिकाहरुले लेख्न मिल्ने डेक्स र बेञ्च तयार पारेका छन् । त्यसैमा उनीहरुले लेख्ने र पढ्ने गरेका छन् ।

५ बर्षका बालबालिका हिडेर ४५ मिनेट टाढाको स्कूलमा जान नसक्ने र सधै बाढी पहिरो र जंगली जनावरको डर हुनेभएपछि स्थानीयहरु मिलेर केही पैसाको जोहो गरि यो कक्षाको सुरुवात गरेका हुन् ।

देख्दै टीठलाग्दो यो हालतमा अध्ययन गरिरहेका यी बालबालिकाको विषयमा धेरै प्रश्नहरु अघि आएका छन् । राज्यको ध्यान नपुगेको हो या बालबालिकाको शिक्षाका लागि भन्दै तम्सिने गैरसरकारी क्षेत्रहरुले यिनीहरुलाई नदेखेका हुन् । अब भने यी बालबालिकाको क्रन्दनमाथि राज्य या संस्थाहरुले सोच्नै पर्छ ।

प्रतिकृया दिनुहोस्
Ad
Ad