Hamro Sanchar

Ad

हिन्दूहरुको महान चाड महाशिवरात्री आज भब्यरुपमा मनाइदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२९ गते
Ad

आज महाशिवरात्री पर्व देशभर मनाईदैछ । प्रत्येक वर्ष फाल्गुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्री पर्व मनाइन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा विहानैदेखि भक्तजनको घुईंचो लागेको छ । भक्तजनको सजिलोका लागि दर्शन गर्न लाइनको व्यवस्था गरिएको छ ।

एउटा लाइन मित्रपार्कबाट उत्तरढोकाको सिँढीतर्फ, अर्को लाइन जयबागेश्वरी शंकराचार्य मठ हुँदै पश्चिम ढोकामा पुग्नेछ । त्यस्तै, अर्को लाइन भने गौशालाबाट सुरु भई वनकाली हुँदै दक्षिण ढोका पुग्नेछ । अरु वर्षको तुलनामा अहिलेको वर्ष दर्शन गर्न सहज भएको भक्तजनहरुले बताएका छन् ।

पशुपतिनाथ शैवमार्गी हिन्दूका लागि एकमात्र शिवलोकका रुपमा प्रसिद्ध छ । प्राचीन कालदेखि नै शैवधर्मको केन्द्र मानिने नेपालमा महाशिवरात्रीका अवसरमा विशेषगरी भारतबाट आउने साधुसन्तले पशुपतिनाथ मन्दिर परिसर निकै रमणीय बनेको छ ।

हिन्दू संस्कृतिमा कालरात्री, सुखरात्री, मोहरात्री र शिवरात्री जस्ता चार रात्री प्रख्यात छन् । कसैले भगवान शिवको जन्म भएकोले आराधना गर्ने गरेको मान्ने गरेका छन् भने कसैले शिवरात्रीको दिन भगवान् शिवको पार्वतीसँग विवाह भएको विश्वास पनि गरिन्छ ।

यो दिन भगवान् शिवलाई आराधना गर्ने सबैभन्दा उपयुक्त दिनका रुपमा धर्मग्रन्थहरुमा व्याख्या गरिएको छ । यस दिन भगवान् शिवको आराधना गरी व्रत उपासना गरेमा मनुष्य जीवनबाट मुक्ति पाउने उल्लेख छ । शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पुकार्ने गरिन्छ ।

सुरक्षाका लागि हजारौ प्रहरी तथा त्यत्तिकै संख्यामा स्वयंसेवक खटिएका छन् । यस दिन शिवको मूर्ति वा मन्दिर अगाडि, टोल, चोकमा रातभर आगो बाली धुनी जगाई भजनकीर्तन गर्ने, देवदेवालयमा महादीप बाल्ने र प्रसाद बाँडी खाने चलन छ ।

कतैकतै भगवान् शिवलाई प्रसन्न पार्ने हेतुले शिवको प्रिय गाँजा, भाङ, धतुरो, घोट्टा आदिको सेवन गर्ने चलन छ । यस्ता लागूपदार्थ बिक्री र सेवनमा प्रशासनले रोक लगाएको छ ।

प्रतिकृया दिनुहोस्
Ad
Ad