Hamro Sanchar

Ad

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता यसैसाता, सहअध्यक्षमा सहमति नजिक

प्रकाशित : २०७४/१०/२९ गते
Ad

शेखर अधिकारी/माघ २९, काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यही साता भित्र पार्टी एकता गरिसक्ने सहमति गरेका छन् । ललितपुरको मानभवनमा सोमबार दिउँसो भएको एक्ला–एक्लै छलफलमा दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकीकरण गर्ने सहमति गरेका हुन् ।

स्रोतका अनुसार पार्टी एकीकरणको नेतृत्व र मोडालिटीबारे भोलि बिहान अध्यक्षद्वय फेरि एक्ला–एक्लै छलफलमा बस्ने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताको विषयमा कुरा टुंग्याउने सहमति भएको छ।

आज भएको छलफलमा दुवै अध्यक्ष जसरी भएपनि सरकार गठनअघि पार्टी एकता गरिसक्नेमा सहमत छन्।

स्रोतका अनुसार फागुन ६/७ गते पछि सरकार गठन प्रक्रिय अघि बढ्ने भएकोले दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकतामा जोड दिएका हुन् ।

स्रोतका अनुसार दुई नेताबीच नेतृत्वको मोडालिटीबारे छलफल भइरहेको छ तर, टुंगिएको छैन । माओवादीले ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष हुने सहमति भएको दाबी गर्दै आएको छ । तर, ओली तत्काल अध्यक्ष पद हस्तान्तरण गर्ने पक्षमा देखिएका छैनन् ।

पछिल्लो पटक एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष दिने र महासचिव एमालेले राख्ने प्रस्ताव अघि सारेका छन् । ०४७ मा माले र मार्क्सवादी एकीकरण गर्दा जस्तो सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने उनको प्रस्ताव छ ।

ओली र प्रचण्ड दुई सहअध्यक्ष बन्ने प्रस्ताव  (संक्रमणकालका लागि संयुक्त नेतृत्वको व्यवस्था) पनि छलफलमा छ । एकीकृत पार्टीमा तत्काल प्रचण्ड वा ओलीको एकल नेतृत्व सम्भव नभएको भन्दै स्रोतले भन्यो, यसकै छेउछाउ त्यतातिर पो जानुपर्छ कि भन्ने छ ।’

प्रतिकृया दिनुहोस्
Ad
Ad