Hamro Sanchar

Ad

विकटमा हुर्केर अहिलेका विख्यात डाक्टर बने डा.सन्दुक रुइत

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/१३ गते
Ad

ताप्लेजुङको विकट गाउँ ओलाङचुङगोलाको डाँडापाखा बाल्यकाल बिताएको स्थल। तमोर खोलाको सिरानमा गाउँ भएकाले तमोरको सुसाई उनको मानसपटलमा गहिरो छाप बनेको छ । डाँडाको भन्ज्याङमा बसेको सानो गाउँमाथिको गुम्बा उनले देखेको पहिलो भगवानको मन्दिर थियो। ‘एकातिरको डाँडामा गाउँ, बीचमा तमोर खोला अर्कातिरको डाँडामा खुब गुराँस फुल्थे,’ बाल्यस्मृतिको मिठो पल सम्झनाले उनको मुहार मधुर हाँसोले उज्यालियो, ‘अझ हिउँदमा हिउँ पर्दा सेतै भएका डाँडामा उफ्रदै कुद्दै रमाउँदाको आनन्द नै बेग्लै ।’

उहिले विकटमा हुर्केर अहिलेका विख्यात डाक्टर बनेका उनी हुन् डा.सन्दुक रुइत । उमेरले ६२ काट्दै गर्दा पनि उनी बाल्यकालमा बिताएका विकटको झझल्कोमा निकै मिठास भेट्छन् ।

गाउँमा आफ्नै व्यापार थिएन तर तिब्बतबाट याक र चौरी लिएर व्यापार गर्न ओहोरदोहोर गर्नेको क्याराभान हेर्न तछाँडमछाड गरेको आजै हो कि झैँ उनलाई लाग्छ । ‘हामी चार–पाँच जना केटाले कहिले चौरीको गोठतिर त कहिले गुराँसको झ्याङमा लुकामारी खेल्थ्यौं,’ रुइत सम्झना ताजा पार्छन्, ‘गाउँमा ल्होसार आउँदा मीठा खानेकुरा र नयाँ लुगा पाउँथ्यौँ । त्यो झन् खुशीको बेला हुन्थ्यो ।’ ल्होसारमा लामाले नाँच्ने पारम्परिक नृत्य फुटुकको रमझम बेग्लै हुन्थ्यो। अझ तोङबा (कोदोको जाँड) तानेर रमाउनेका अघिपछि कुदेर रमाइलो गर्नु उनीजस्ता बालबालिकाका लागि अर्को रमाइलो बन्थ्यो । हिमाली बुद्ध धर्म अर्थात् महायानी बुद्ध धर्म मान्थ्यो, उनको परिवार ।

उनका बुबा सोनाम रुइत तिब्बत र नेपालमा सामान ओसार पसार गर्ने सानो व्यापार गर्थे । घरखेतको सानो आम्दानी र व्यापारको मेसोले उनका तीन बैनी, एक दाजु सहितको संयुक्त परिवार धान्थ्यो । बुबाले उताबाट नून, छुर्पी र कपडाहरु ल्याएको याद छ उनलाई । नेपालबाट भने चामल, चिउरा अनि कलकत्ताबाट ल्याएका रङ, औषधि, जाडोमा लगाउने क्रिम बोकेर उनका बुबा तिब्बत हानिन्थे । उनको परिवारको इतिहास पनि तिब्बतसँगै जोडिएको उनले थाहा पाएका छन् । तिब्बत–नेपालको खुला आवतजावतकै कारण नेपाल बसाइ सरेको होलुङ समुदाय नै आफ्नो पहिचान भएको उनी मान्छन् । जुन नेपालका जनजातिमध्ये सबैभन्दा सानो समुदाय मानिन्छ ।

स्कुले जीवनको उतारचढाव
आफूले औपचारिक शिक्षा नलिएको भए पनि आफ्ना छोरा पढाउने सपना उनका बुबाले पालेका थिए । सोनाम कुनै बेला लामा पढ्न गुम्बामा बसेका थिए । तर सबै नपढी उनी गृहस्थीमै फर्केका थिए । त्यहीँबाट साक्षर बनेका सोनामले अध्ययन र शिक्षाको महŒव बुझेका थिए । जेठा छोराको अकालमै निधन भएपछि माइला छोरा सन्दुकलाई पढाउने मेसो थाले । विकट गाउँमा पढ्ने स्कुल, उपचार गराउने अस्पताल र बजार केही पनि थिएन । अस्पताल नभएकै कारण उनका दाजुले झाडापखालाबाट ज्यान गुमाउनु परेको थियो । राजधानी काठमाडौं आउने यातायात पनि थिएन । हिँडेर आउनै तीन महिना लाग्थ्यो ।

सात वर्षको उमेरमा सन्दुक उनका बुबा सोनामसँगै दार्जिलिङ पुगे । एक मात्र उद्देश्य सन्दुकको पढाइ नै थियो । ‘चौध दिन हिँडेपछि दार्जिलिङ पुगेका थियौं,’ डा. सन्दुकलाई याद छ, ‘म सेन्ट रोबर्ट स्कुलमा भर्ना भएर पढ्न थालेँ ।’ घर टाढा भएपछि आउजाउ गर्न गाह्रो हुन्थ्यो । स्कुलकै छात्रावासमा बसेका साना सन्दुकलाई घर, साथीभाइ खुब याद आउँथ्यो । वार्षिक र चाडबाडको छुट्टीमा पनि घर जान नपाएका सन्दुकलाई स्कुलका प्राचार्य फादर मेकीले निकै माया गर्थे । ‘छात्रावासमा एक्लो भएको बेला बजार घुमाउन लानुहुन्थ्यो,’ याद गर्दै भने, ‘फादरले कहिले चिडियाघर त कहिले कालिम्पोङसम्म पु¥याएर भुलाउनुहुन्थ्यो ।’ जसोतसो धानिएको स्कुलको छात्रावासको बसाइ कष्टकर नै लाग्थ्यो उनलाई । कोच्चिएर बनेका तहतहको सुत्ने ठाउँसम्म पुग्न पनि कोच्चिएरै पुग्नुपथ्र्यो । बुबाले पढ्नुपर्छ भनेकाले उनलाई नमीठो पनि मीठो लाग्थ्यो । अप्ठेरो पनि सहन सिकिसकेका थिए । करिब ६ वर्षको बसाइ सक्नै लाग्दा सन् १९६२ तिर भारत–चीन युद्ध सुरु भयो । दार्जिलिङ र आसपासका क्षेत्रमा पकड जमाउन भएको त्यो युद्धले स्थानीय र आप्रवासी सबै तितरबितर भए । स्कुल बन्द भएपछि फादर मेकी भुटान गए । ‘मलाई भने बुबाले विराटनगरबाट भारत अनि रेलबाट वीरगंज ल्याइपुर्याउनु भयो,’ पढ्ने ठाउँ फेरिँदाको स्मरण गर्छन् उनी । उनी त्यहाँबाट गाडी चढेर काठमाडौंमा पहिलो पटक आए । बालाजुस्थित तत्कालीन वनस्थली स्कुलमा कक्षा नौमा भर्ना भए । छात्रावासमै राखेर उनका बुबा फर्किए ।

दुई वर्षको स्कुल बसाई रमाइलो गरी बित्यो । काठमाडौंका खुला आकाश र सडक, खेतका आली, तरकारी बारी, रानी वन, बाइसधारा उनका किशोर जीवनका साथी बने । ‘दौंतरी मिलेर कहिले छिमेकीका कुखुरा चोरेर लुकीलुकी भुत्ल्याएर उसिनेर खान्थ्यौं,’ उरन्ठेउला बेलाको रमाइलो सम्झेर हाँस्दै भने, ‘कहिले हरियो मकै, हरियो केराउ अनि बकुल्ला चोरीचोरी खान्थ्यौं ।’ छुट्टीका दिन घुमफिर गर्दै बाइसधारामा नुहाउने अनि रानीवन चहार्ने गर्थे । उनको पुख्र्यौली गाउँमा भने तमोरको मुहान फुटेर बाढी पसेपछि आधा गाउँ बगाइसकेको थियो । घरखेत बगाएपछि उनका बुबा परिवारसहित धनकुटाको हिले बसाइ सरे । उनले भने वनस्थली स्कुलबाट एसएलसी उत्तीर्ण गरे ।

राजधानीका आली–आली हिँड्दाको रमाइलो
उनी घण्टाघरस्थित त्रिचन्द्र कलेजमा आइएस्सी पढ्न भर्ना भए । त्यसबेला भने उनी बहिनीसँग बागबजारस्थित डेरामा बस्न थाले । बहिनी महेन्द्र भवन स्कुलमा कक्षा नौ मा पढ्थिन् । यसअघि पढाइबाहेक कहिल्यै भातभान्छाको काम नगरेका उनले यही बसाइमै घर–बजार गर्न सिके । ‘म तरकारी किनेर ल्याउँथे, बैनीले भात पकाउँथी,’ डेरा बसाइका कुरा सम्झँदै सन्दुकले भने, ‘यहीँको तरकारी, टाइचिन चामल निकै सस्तो थियो ।’ कोठा भाडा पनि अलिकभित्र भएकाले जम्मा २५ रुपैयाँ तिर्थे उनी ।

राजधानीमा त्यो बेला लोकल गाडी चल्दैन थिए । हिँडेर आवतजावत गर्नुपथ्र्यो । राजदरबार र कुलिन घरानाका गाडी, घोडा, बग्गीको भने सडकमा ठूलै धाक हुन्थ्यो । ‘हामी खेतका आलीआली हिँडेरै स्वयम्भू पुग्थ्यौं,’ कलेज जीवनका रमाइलो उनका आँखैमा झल्किन्छन्, ‘पशुपति, सुन्दरीजल अनि गोदावरी पनि हिँडेरै जान्थ्यौं घुम्नलाई ।’ आक्कलझुक्कल चल्न थालेका लोकल बसको भिडमा कोच्चिएर पनि रमाइलो गरेको याद छ उनलाई । आइएस्सी दोस्रो वर्ष पढ्दै गर्दा बैनीलाई क्षयरोगले समात्यो । राजधानीमै उपचार गराउँदा पनि औषधिले नछोएपछि घर लगेकी बहिनीको केही महिनामै निधन भयो । उनको अर्की बैनी पनि बिरामी भएरै बितिन् ।

डाक्टर पढ्न लखनउ
पहिलो बैनी बितेपछि सन्दुकले नजिकको मित्र गुमाए । आफ्ना हरेक कुरा बैनीसँगै साट्थे । बैनीको निधनपछि मभित्र रोगहरुप्रति एकप्रकारको विरोधाभास जन्मियो । ‘यसरी मान्छे रोगले मरिरहेका छन्, झन् विकटमा कति मर्छन् होला भन्ने लाग्यो,’ उनले मनका कुरा सम्झे, ‘त्यहीबेलादेखि जसरी पनि डाक्टर बन्ने धोको पलायो ।’ लगनशील सन्दुकले नभन्दै भारतको लखनउस्थित किङ जर्ज मेडिकल कलेजमा एमबिबिएस गर्न सरकारी छात्रवृत्ति पाए । कमजोर आर्थिक अवस्था भएकाले निजी कलेजमा पढ्ने उनको सम्भावना नै थिएन । यसअघि चिसो ठाउँमा विताएका उनलाई लखनउको उखर्माउलो गर्मीले केही दिन निकै सतायो । चिकित्सा विज्ञानको पढाइमा परीक्षण र अध्ययनकै कारण उनको ७० प्रतिशत समय सकिन्थ्यो । साथीभाइको साथ भने उनी छाड्दैन थिए । शनिबार आधा दिनको छुट्टि अनि आइतबारको पूरै छुट्टी उनी साथीभाइसँगै बिताउँथे । लखनउको गुलाब र मेहफेर टाकिजमा फिल्म हेर्ने अनि राति चाइनिज र इन्डियन खाना बाहिर खाने उनीहरुको रुटिनजस्तै हुन्थ्यो । रिक्सा चढेर बजार घुम्दै चारजना दौंतरी हलसम्म पुग्थे । त्यसका लागि पन्द्र रुपैयाँ जोगाड गर्न हप्ता दिन लाग्थ्यो । रुइत कलेज लाइफको मजा बताउँछन्, ‘ऋषि कपुरको बबी, राजेश खन्नाको आराधनाजस्ता त्यतिबेला सुपरहिट बनेका हिन्दी फिल्म निकै हेरियो । कहिले त साइकल भाडामा लिएर साथीहरुसहित राइडिङमा निस्कन्थे ।

लखनउ मुजरा संगीतका लागि चर्चित मानिन्छ । मुजरा गाउनेहरुको हवेली टोलटोलमा हुन्थ्यो । साँझपरेपछि शिक्षित र आर्थिक हैसियत भएकाहरु त्यस्ता हवेलीमा मुजरा सुन्न र हेर्न पुग्दथे । अझ भनौँ मुजरा गाउनेको सुन्दरता निहार्नकै लागि पनि कतिपय त्यस्ता हवेली पुग्दथे । रुइत पनि साथीसँग दुई पल्ट मुजरा अनुभव लिन पुगे । कलेजमा चिकित्सा पढ्ने साम्भ्रान्त वर्गका छोरीहरु पनि हुन्थे तर उनीहरुसँगको सम्बन्ध केवल सहपाठीको मात्र रहन्थ्यो । आम मानिसका छोरी त्यसरी बाहिर बसेर पढ्ने दिन नेपालमा चलन बसिसकेको थिएन । भारतमा भने त्यो ताका पनि नेपाली साम्भ्रान्त वर्गका छोरीहरु पनि पढ्न पुगेका थिए । मध्यम वर्गीय परिवारका रुइत माथिल्ला वर्गकासँग संगत गर्न हिच्किचाउँथे । कलेजमा नेपालबाहेक मलेसिया, श्रीलंका, दक्षिण अफ्रिका लगायतका देशबाट पनि पढ्न आउँथे । आएका नयाँ विदेशी विद्यार्थी पुराना विद्यार्थीको र्यागिङबाट जोगिन्थे तर भारतकै नयाँ विद्यार्थीले भने हुनुसम्मको र्यागिङ भोग्दथे । कतिपयलाई त नांगै मैनबत्ती बोकेर टेबल टेनिसको टेबल वरिपरि नाच्दै घुमाउँथे पनि ।

लखनउ मुगल साम्राज्यको सभ्य र सुन्दर नगर थियो । ‘वाह, त्यहाँको खानाको स्वाद अहिले पनि मेरो जिब्रोमा उस्तै छ,’ हातमा लिएको हट लेमन विथ हनीको चुस्की लिँदै बोले, ‘चिकन तन्दुरी, कवाब, कु्ल्फीको मिठास यहाँ कहाँ पाउनु ?’ त्यहाँका मानिसहरु बोल्दा पनि उर्दु लवजमा खानाजस्तै मीठो गरी बोल्थे र सुन्दा उनी निकै आनन्द मान्थे । उनी कलेजको बास्केटबल टिमको क्याप्टेन थिए । रुचिका खेलमा फुटबल टेबल टेनिस पनि थिए तर राम्रो खेलेकैले उनी बास्केटबलको क्याप्टेन भएका थिए । अन्तर कलेज प्रतिस्पर्धामा उनकै नेतृत्वमा विद्यार्थीहरु भाग लिन्थे अनि सिल्ड जितेर फर्कन्थे ।
भारतको भन्दा नेपालमा विकास राम्रो रहेको भन्दै भारतीयहरु उनका अघि प्रशंसा गर्दथे । हुन पनि भारतमा सहज नभएको होन्डा, टाटाका मोटरसाइकल र गाडीहरु नेपालमा भित्रिसकेका थिए । ‘हिमाल, पहाडको सुन्दरता बोकेको सुन्दर नेपाल कति राम्रो भनेर घुम्न आएका साथीहरुले भन्दा उनी मख्ख पर्थे । अहिलेको परनिर्भरता त्यो बेला नभएको उनले सुनाए ।

चिकित्सा विज्ञानमा उनको रुचि सर्जरीमा विशेष थियो । दोस्रो सेमेस्टरमा उनले ‘एनोटमी अफ पेल्भिक वाल’ अर्थात मानिसको पेटको छालाभित्रका तन्तुहरुको परीक्षण गरी किताबभन्दा अब्बल तरिकाले तन्तु, रगतको नशा लगायतका नालीबेली दुई घण्टामा प्रत्यक्ष प्रस्तुत गर्दा गोल्ड मेडल नै जिते । एक सय जना विद्यार्थीमध्ये उनले गरेको परीक्षण र प्रस्तुति अब्बल ठहरिएको थियो । डाक्टर बनेर नेपालको दुरदराजमा सेवा गर्ने सपना पालेकाले पनि उनी पढाइमा कुनै सम्झौता गर्दैन थिए ।

कलेजको च्यालेन्जले झन् बलियो
केही गर्नका लागि नयाँ सोच र टोलीको साथ भए गर्न सकिन्छ भन्ने आँट उनले कलेज जीवनमै सिके । पारिवारिक अवस्था सुदृढ नहुँदा पनि कसरी चुनौती सामना गर्ने भन्ने कुरा सिके । स्कुलमा फादर म्याकीले एउटा लौरा भाँचेर चार वटा लौरा भाँच्न नसकेको शिक्षा अहिले पनि उनी स्वीकार्छन् । एउटाले गर्दा त्यो नहुन सक्छ तर धेरै मिलेर गर्दा त्यो शक्तिमा परिणत हुन्छ भन्ने मैले जहिल्यै प्रयोग गरिरहेँ । ‘लखनउमा रहँदा उपचार गर्न आएका नेपालीहरुलाई म मनैदेखि सहयोग गर्थें,’ उनले सम्झे, ‘अझ एउटा संगठन जस्तो बनाएरै हामी सक्रिय रहन्थ्यौँ ।’

वीर अस्पतालबाट सेवा
चिकित्सा विज्ञानको अध्ययन सकेपछि उनी जुनियर डाक्टरका हैसियतमा काम गर्न राजधानीकै वीर अस्पतालमा आइपुगे । विभिन्न विभागका बिरामी उपचार गर्दागर्दै उनी आँखाको बिरामी पनि जाँच्न पुगे । त्यही बेला नेपाल र चाइनाले संयुक्त रुपमा सुरु गरेको बोर्डर कमिसन परियोजनामा उनी स्वास्थ्य टोलीमा परे । त्यही बेला उनले संखुवासभा, किमाथांका हुँदै बालकैमा छाडेको ओलाङचुङगोलाको आफ्नो प्यारो गाउँमा फेरि खुट्टा टेक्न पुगे । ‘स्वास्थ्य शिविर चलाउँदा म निकै हर्षित थिएँ त्यो बेला,’ उनी भावुक बन्छन्, ‘मेरो दाजुको ज्यान गएको ठाउँमा अरुका घाउमा मलम लगाउन पुगेँ ।’ वीर अस्पतालमा डाक्टर नवीन राईको सहायक भएर बर्दियाको आँखा शिविरमा काम गरेपछि भने उनले चिकित्सा क्षेत्रको आफ्नो बाटो भेट्टाए । एउटै परिवारका पाँच जनाले आँखा नदेख्दा त्यो गाउँका सामाजिक, आर्थिक र सांस्कृतिक अवस्थामै असन्तुलन आएको देखे । भेडाबाख्रा जस्तो घरको कुनै कुनामा बसिरहेका मान्छे देख्दा उनको मन कटक्क हुन्थे । आफ्नो आँखा नहुदो हो त के होला भन्ने कल्पना उनले त्यही बेला गरे । ‘म त बाँच्ने कल्पना पनि गर्न सक्दिनँ, आँखा नहुँदा तर बाँचेर धेरैका आँखामा उज्यालो छर्न त सक्छु भनेर त्यही काममा अघि बढेँ,’ रुइतले आँखा स्वास्थ्यमा प्रवेश गर्दाको पल सम्झे । त्यसबेला नेपालमा केही गरेर हुने खालको तर गर्न नसकिएको अन्धोपन प्रशस्त भेटेका थिए ।

वीर अस्पतालमा केही समय सेवा गरेपछि उनी फेरि अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा एमडी पढ्न पुगे । तीन वर्षको पढाइपछि सन १९८४ मा नेपाल फर्के । त्रिपुरेश्वर आँखा अस्पतालमा आठ वर्षको कामलगत्तै उनले अस्टेलियामा आँखासम्बन्धी पढाइकै लागि पुगे । प्रतिभावान क्षमता भएका उनलाई युरोपेली देशबाट थुप्रै अफर आए पनि गएनन् । नेपाल नै फर्के।

आँखा अस्पतालमै भेटिइन् प्रेमिका
रुइतले ठानेका कुरा गाह्रो अप्ठेरो जसरी भए पनि त्यो बेलासम्म पाइरहेका थिए तर प्रेमिका पट्याउन भने उनलाई हम्मे–हम्मे नै पर्यो । नन्दा श्रेष्ठ त्रिपुरेश्वर आँखा अस्पतालमै इन्चार्ज थिइन्। अपरेसन थिएटरमा सँगै काम गर्थे । रुइतलाई नन्दा मन पर्न थालिन् । आफूले मन पराएकीलाई गुमाउन नपरोस् भनेर उनले छिट्टै प्रेम प्रस्ताव पनि राखे तर स्वीकार भएन । काठमाडौंकी नेवार परिवारकी छोरी मागेर विजातमा बिहे हुने कुनै गुन्जायस नै थिएर । नन्दा मन परेपछि उनले आफ्नो घरमा भने । केटीका घरमा पनि भने तर दुवै घरमा अनुमति पाएनन् । दिनदिनै हुने भेटले उनीभित्र पलाएको मायाको संसार फैलँदो थियो । ‘म उनलाई बाहिर खाजा खान बोलाउँथे उनी ग्रिन सिग्नल दिँदै आउँथिन्,’ प्रेमिल दिनका कुरा मुस्काउँदै भन्छन्, ‘उनीसँग मैले सधैँ आफू प्रेममा परेको कुरा बताउँथे ।’ नन्दा भने मान्दिनथिइन् ।

‘अहँ हुन्न, मेरो र तपाइँको जात मिल्दैन, समुदाय पनि मिल्दैन अनि परिवारले पनि स्वीकार्दैनन्,’ नन्दा नकार्थिन्, ‘परिवारविरुद्ध म जान सक्दिनँ ।’ रुइतले भने पछ्याउन छाडेनन् । बिहे गर्न नमाने पनि नन्दा उनले बोलाएका ठाउँमा भने पुग्थिन् । समाजको डरले भित्र लुकेको प्रेम व्यक्त गर्न भने उनले सकिनन् ।
एक दिन हैन, दुई दिन हैन दुई वर्ष बित्यो रुइतलाई नन्दाको पछि लागेको तर नन्दाले हुन्छ भन्नै सकिनन् । रुइतले हत्ते गरेपछि उनको मायाले पगाल्यो एकदिन । खाजा खाने ठाउँमा एकदिन रुइतले भने, ‘म तिमीबिना बाँच्न सक्दिन तिमी हुन्छ भन बिहे गरौं । पछि बिस्तारै सबै ठीक हुन्छ ।’

यसरी अनेक गरेर उनले फकाएपछि बल्ल नन्दा बिहे गर्न राजी भइन् । परिवारको सदस्य बिना सन् १९८७ मा साथीभाइका माझ तीन हजारमा बिहे भोज गरेको मीठो याद मुटुमै छ उनको । बिहेपछि परिवारले स्वीकार्न निकै समय लगाए । छोरा जन्मेको केही वर्षपछि बल्ल घर भित्र्याए । छोरा सागर डाक्टर बने । छोरी सेराब्ला म्यानेजमेन्ट पढ्दैछिन् । कान्छी छोरी साटेन्ला पनि चिकित्सा नै पढ्दैछिन् ।

मोतिया बिन्दुको नयाँ उपचार पद्धति रुइतेक्टोमीको विकास
उनले आँखाको उपचारका लागि नयाँ पद्धति जन्माउने सपना देखेका थिए । त्यतिबला निकै असहज तरिकाको पद्धतिभन्दा फरक पद्धति विकास गर्नुपर्छ भन्ने उनको मान्यता थियो । मोतीया बिन्दुको उपचार गर्ने नयाँ चिकित्सापद्धति रुइतेक्टोमीको सुरुवात गरे । जसका कारण उनले सन् २००६ मा म्यागासेसे पुरस्कारसमेत प्राप्त गर्न सफल भए । नेपालमै आँखा केन्द्र खोल्ने उनको सपनालाई अस्टे«लियाका डाक्टर हलोजले साथ दिए । फ्रेड हलोज फाउन्डेसनको साथ र नेपाली समाजसेवीहरुको साथबाट उनले तिलगंगा आँखा केन्द्रको सन् १९९२ मा स्थापना गरे । सेवा सुरु गरेको १९९४ आफ्नो उपचार पद्धतिका साथमा उनले झण्डै डेढ लाख मानिसको मोतिया बिन्दुको उपचार गरिसकेका छन् । पछि यही केन्द्र तिलगंगा आँखा अस्पतालका रुपमा स्थापित भयो ।

उनले नेपालका दूरदराजका नेपालीको मात्र नभई भारत, बंगलादेश, भुटान, बर्मा, भियतनाम, कम्बोडिया, इन्डोनेसिया, उत्तर कोरिया, चीन, अफ्रिका लगायतका देशका बिरामीको आँखाको समेत उपचार गरेका छन् । उनले उपचार पद्धतिमा ल्याएको उच्चस्तरीय लेन्स परम्परागत लेन्सभन्दा तीस गुणा सस्तो मानिन्छ । मोतिया बिन्दुबाहेक आँखाको बाहिरी झिल्लीको प्रत्यारोपणमा समेत उनले सफलता प्राप्त गरे ।
जसको फलस्वरुप उनले रोमन म्यागासेसे अवार्ड, भुटानका राजपरिवारले विदेशीलाई दिने सर्वोच्च सम्मान र थाइल्यान्डको राजपरिवार प्रिन्स महिडोल अवार्ड, अस्ट्रेलियामा विदेशीलाई दिने सर्वोच्च अवार्ड, एसियन गेम चेन्जर २०१६ अमेरिका, एसियन अफ द इयर २००७ लगायतका पुरस्कार तथा सम्मान प्राप्त गर्न सफल भए । अहिले पनि तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक छन् । योसँगै विभिन्न सामाजिक संघसंस्थाको साथमा आँखासम्बन्धी सेवामा समर्पित छन् । विदेशी चिकित्सकलाई नेपालमै रहेर तालिम र अध्यापन गर्ने एक उत्कृष्ट शिक्षक पनि उनी हुन् । कसैले आँखा नदेख्ने भएर अन्धकारमा जीवन बिताउन नपरोस् भन्ने चाहना राख्छन् । ‘छोराछोरीलाई आफ्नै देशको सेवा गर्न कन्भिन्स गरेको छु,’ उनले भने, ‘मैले पाएको दुःखभन्दा सुख र सुविधा उनीहरुले पाएका छन् जसो भए पनि यही बस्न भनेको छु ।’ फलस्वरुप उनका तीनै जना छोराछोरी नेपालमै पढेर नेपालमै सेवा गर्ने पिताको पथमा लागेका छन् । उनको नजरमा पहिलेको तुलनामा नेपालको अहिलेको शिक्षा प्रविधि सबल भए पनि परीक्षा प्रणालीमा खोट रहेको छ । ‘परीक्षा प्रणाली पारदर्शी हुने हो र प्राविधिक शिक्षालाई जोड्ने हो भने सुनमा सुगन्ध हुनेछ,’ उनी भन्छन् ।

nagariknews.com बाट साभार गरिएको

प्रतिकृया दिनुहोस्
Ad
Ad