Hamro Sanchar

Ad

फुर्सद छैन जिन्दगीमा ?

हरि बानिया प्रकाशित : २०७४/९/२९ गते
कुवेत
Ad

हरि वानिया,कुवेत।

जिन्दगी आफ्नै हो । समय पनि आफ्नै । स्वतन्त्रता त झनै आफ्नो तर फुर्सद छैन ।’
कुनै बेला फुर्सद होइन, इच्छा भैरहेको हुँदैन । कुनै बेला प्राथमिकताको सूचीमा अरू नै काम थुप्रिएकाले फुर्सद होइन, प्राथमिकतामा हुँदैन । कुनै बेला हामी यस्तो डोरीले बाँधिएका हुन्छौँ जसको लगाम अरू कसैको हातमा हुन्छ अनि हामी बाध्य भएर भनिरहेका हुन्छौँ, फुर्सद छैन । कुनै बेला त आफैँले आफैँलाई महान् देखाउन पनि हामी ‘फुर्सद छैन’ भनिरहेका हुन्छौं ।

फुर्सद के कामका लागि, अनि कसका लागि भनेर पनि तय हुन्छ । आफूलाई मन पर्ने मानिस अनि फाइदा हुने कामका लागि हामीसँग फुर्सदै फुर्सद हुन्छ । आफूलाई मन नपर्ने मानिस अनि फाइदा नहुने कामका लागि हामी व्यस्तै व्यस्त । कैयौँपटक त हामी आफ्नै लागि पनि बेफुर्सदी भैदिन्छौँ र पो ! हामीभित्रको अर्को मानिसले कैयौँ कुराको रहर गरेको हुन्छ । हामी ती रहरलाई यसरी कुल्चन्छौँ, मानौँ आफ्नो नभएर अरू कसैको रहर हो त्यो । हामीभित्रको अर्को मानिसले हामी हिँडिरहेको बाटो मन पराइरहेको हुँदैन, तैपनि हामी अटेर गरेर हिँडिरहन्छौँ र पो ! हामीभित्रको मानिस तिर्खाइरहेको हुँदा, उसको आँत हामी निरन्तर सुकाइरहन्छौँ र पो !

हामीभित्रको अर्को मानिसले कहिलेकाहीं आफैँसित समय मागिरहेको हुन्छ । व्यस्तताले गर्दा मानिस आफैँसित समय बिताउन नभ्याउने भएको छ । आफैँबाट आफैँ टाढा हुन थालेको छ । आफैँलाई नचिन्ने हुन थालेको छ । आफैँलाई नबुझ्ने हुन थालेको छ । न आफैँसँग प्रश्न गर्न सक्ने भएको छ, न आफैँलाई जवाफ दिने हैसियत ऊसँग छ । ऊ आफैँलाई धोका दिइरहेको पनि थाहा पाउन नसक्ने हुन थालेको छ । ऊ आफैँबाट धोका पाइरहेको पनि नबुझ्ने भएको छ ।

एउटा औसत मानिसको दिन अफिसको टेबल, फाइल, फोन कल, मिटिङ तथा हाकिमलाई रिझाउनुपर्ने बाध्यतामा बित्छ । कति सुन्दर देखिएको छ, थाहै हुँदैन । पाँच मिनेट आफैँलाई समय दिएर त्यो सुन्दरता हेर्ने फुर्सद हामीलाई कहाँ ! दस मिनेट कुनै पार्कमा बसी त्यहाँ आफ्नै दुनियाँमा मस्तसित खेल्ने केटाकेटीहरूको खुसी देखेर खुसी हुने फुर्सद हामीसँग कहाँ ? व्यस्तताको खाल्डोमा अस्तव्यस्त बोझले पुरिएर बित्न आँटेको जीवनलाई एक पटक पाँच घण्टा उकालो चढेर हेर्दा त्यही खाल्डो कति सुन्दर देखिन्छ भनी हेर्ने फुर्सद हामीसित कहाँ ? घरबाट बाहिर निस्कँदा हामी बादलको आकार हेर्न भ्याउँदैनौँ ।

हामी हरेक दिनका लागि एउटा कोठा बनाउँछौँ र ताल्चा ठोक्न लगाएर साँचो अरूकै हातमा सुम्पिन्छौँ । हामीलाई त सपना देख्नेसमेत फुर्सद छैन यहाँ । देशका बारेमा बुझ्न पत्रपत्रिका तथा टेलिभिजनको समाचार, चियागफमा बिताउने समय हामीसित छ । आफूलाई बुझ्ने समय हामीसित कहाँ ?

प्रतिकृया दिनुहोस्
Ad
Ad